धमाका संवाददाता
दैलेख १६ ,साउन
सदरमुकाम देखी २४ कोष टाढा पर्ने पिपलकोट गासिबस ५ बतासेडाँडाका स्थानीय बासिन्दाको पुर्खौ देखीको खानेपानीको समस्या समाधान भएको छ ।
गाउँमा रहेका ३९ घरधुरीका २३० जनसंख्या बतासे डाँडामै बसोवास गर्छन् उनीहरु मात्र हैन बस्तीमै रहेको कालिका प्रा.वि. मा अध्ययनरत कक्षा १ देखी ५ सम्मका करिव १२० विद्यार्थीहरुको खानेपानी समस्या समाधान भएपछि गाउँमा खुसीयाली छाएको छ । खानेपानीको राम्रो व्यवस्था नभएकै कारण विद्यार्थीहरुले कुलोको पानी खाने गरेको र हाल उक्त समस्या समाधान भएको सामाजिक सेवा केन्द्र (सोसेकका ) अध्यक्ष हिरासिंह थापा बताउँछन् ।
कर्णाली राजमार्गले सुविधा बनाएको जस्तो देखिने उक्त गाविसका मानिसको जिवन संग जोडिएको खाने पानी पूर्वाधारको विकास भने ढुंगे युग जस्तै रहेको थियो स्थानीय उपभोक्ता विनसरा आरुपाटेले भनिन् ।
गरिवी निवारण कोषको आर्थिक सहयोग, समाजिक सेवा केन्द्रको सहजिकरणमा वाम पि हेल्भेटास स्वीस ईन्टर कोअपरेशन नेपालको प्राविधिक सहयोगमा र गाविसको कार्यालय पिपलकोटको समन्वयमा १९ लाख ३ सय ११ रुपैयाँ लागत योजना सम्पन्न गरिएको छ ।
स्थानीय उपभोक्ता कौमती थापाका अनुसार गरिवी निवारण कोषको १४ लाख ७ हजार १ सय ९७ रुपैया, गाविसको अनुदान ५ हजार, सरसफाई क्षेत्र अन्तरगत वाम पि हेल्भेटास स्वीस ईन्टर कोअपरेशन नेपालको को ९१ हजार ६ सय ८० रुपैया र स्थानीय उपभोक्ताको ३ लाख ९६ हजार ४ सय ३३ रुपैया बराबरको जनश्रमदानबाट योजना सम्पन्न भएको हो ।
अहिले गाविस खुलादिसामुक्त क्षेत्र भैसकेको र केही समयभित्र पूर्ण सरसफाई क्षेत्र घोषणाको तयारी भएको गाविस कार्यालयले जानकारी दिएको छ ।









